भरतपुर । होटल व्यवसायी संघ चितवनको आयोजना, होटल व्यवसायी महासंघको समन्वय र ब्रिटिस काउन्सिल टिईभिटी र पिपिपि प्रोजेक्टको सहयोगमा तीन महिने रैथाने नेपाली कुक तालिम सुरु भएको छ ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य एंव तालिमका संयोजक पुजन कोइरालाले स्वागत मन्तव्य सहित तालिमको वारेमा जानकारी गराएका थिए ।
भरतपुर ४ यज्ञपुरी स्थित ग्यालेक्सी गार्डेन रिर्सोटमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी चुकेले महासंघको समन्वयमा ब्रिटिस काउन्सिल टिईभिटी/पिपिपि प्रोजेक्टको सहयोगमा पहिलो चरणमा होटल व्यवसायी संघ चितवनमा उक्त तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
तालिमले क्षमता र दक्षता विकास गर्ने हुँदा तालिमलाई भरपुर उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । पछिल्लो समय होटलहरुमा दक्ष कुकको अभाव रहेको वताउँदै तालिम दक्ष कुक उत्पादन हुने अपेक्षा गरे । भरतपुर भ्रमण वर्षको लागि चितवनका होटलमा दक्ष जनशक्तिको आवश्यकता रहेको वताउँदै चुकेले तालिम लिएकाहरुले अवसर पाउने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले तालिम लिनु मात्रै ठुलो कुरा नभएको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु मुख्य कुरा भएको बताए । भरतपुर महानगरपालिका ४ का वडा अध्यक्ष अर्पण पोखरेलले भरतपुर भ्रमण वर्षको अवसरमा तालिम आयोजना गरेकोमा होटल व्यवसायी संघ चितवनलाई धन्यवाद व्यक्त गरे ।
भरतपुर भ्रमण वर्ष सफल बनाउन सवैको साथ, सहयोग र सहभागिता आवश्यकता रहेको वताउँदै पोखरेलले संघलाई महानगरपालिकाको तर्फवाट गर्नु पर्ने सहयोगको लागि प्रतिवद्ध रहेको बताए । सो अवसरमा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक श्रीराम गिरी लगायतले बोलेका थिए । तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।












