काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै निवेदन परेको छ। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा युवराज सफलले स्वार्थको मन्त्रालय जोडिएको भन्दै आज निवेदन दिएका हुन्।
उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने सम्भावना देखिएको तथा सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्न सम्भावना देखिएको बताएका छन्।
त्यस्तै, निज रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवम् छानविनसमेत गरिरहेकोले उनी तत्काल पदमा रहिरहन नमिल्ने सफलको दाबी छ।
त्यस्तै, श्रममन्त्री डिपी अर्यालमाथि मेनपावर व्यवसायीको रुपमा कार्य गरेको र हाल पनि मेन पावर कम्पनीको जिम्मेवार पदमा रहेको हुनाले श्रममन्त्रीको जिम्मेवारीमा रहिरहन नमिल्ने दाबी निवेदक सफलको छ।
साथै सफलले उल्लेखित मन्त्रीहरुको जिम्मेवारी हेरफेर नगरेको खण्डमा यसै विषयलाई बोकेर अदालतमा प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाई कानुनी उपचारमा जान सक्ने चेतावनीसमेत दिएका छन्।












