चितवन। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सिन्धुलीमा ‘डग स्निफिङ’ (कुकुरले सुघ्ने) सहितको प्रहरी चेकिङ गरेको छ ।
दिपावली तथा छठ पर्वलाई लक्षित गरि पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्धेश्यले उक्त चेकिङ गरिएको प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी दिपक रेग्मीले जानकारी दिए ।
कार्यालयले तयार पारेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार बुधबार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा र विहिबार सोही नगरपालिका १४ अन्तर्गत पर्ने चन्दनपुरमा चेकिङ गरिएको रेग्मीले जानकारी दिएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रेस विज्ञप्ती जारी गर्दै तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरी टोलिले विष्फोटक पदार्थ, लागु औषध ओसारपोसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित व्यक्तिको चेकजाँच गरिएको बताएको छ ।
पछिल्लो समय विभिन्न राजमार्ग रहेका नाकाहरुमा डग स्निफिङ सहितको प्रहरी चेकिङ गर्दै आइरहेको रेग्मीले बताए । यसअघि विजयादशमीको समयमा मकवानपुर र चितवनमा उक्त चेकिङ गरिएको थियो । प्रहरी कार्यालयका अनुसार काभ्रे र धादिङमा जिल्लाका विभिन्न स्थानमा छिटै चेकिङ गरिने योजना रहेको छ ।












