सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ भएपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन्।
पछिल्ला दिनमा नेपालबाट आउने विद्यार्थीको भिसा प्रक्रियामा निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन्।
कोरोनापछिको ६ महिनामा नेपाली विद्यार्थीको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदा यो पेसासँग जोडिएका नेपाली मूलका व्यवसायी तथा शैक्षिक परामर्शदाताले केन्द्रीय अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका हुन्।
एकपछि अर्को गर्दै नेपाली विद्यार्थी र नेपालसँग जोडिएका केही गलत अभिव्यक्ति सार्वजनिक हुनुका साथै यसले समग्र शैक्षिक उद्योगमा परेको प्रभावका विषयमा गहन छलफल गरिएको एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले जानकारी दिए।
‘हामीले यस विषयमा सरोकारवालाको तर्फबाट ग्रानभिलमा भेटेर आफ्ना कुराहरू स्पष्ट पारेका छौं,’ खड्काले भने।
यसअघि पनि नेपाली मूलका शैक्षिक उद्योगीले लिबरलका एनएसडब्लुका मन्त्री तथा प्रभावशाली नेता मार्क कुरेसँग भेटेर यो समस्याबारे अवगत गराएका थिए।












