काठमाडौँ । अमेरिका र इरानबीच २१ अप्रिलमा समाप्त हुने अस्थायी युद्धविरामअघि महत्वपूर्ण सम्झौताबारे छलफल तीव्र भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्ला वार्तामा प्रगति देखिए पनि केही मुख्य विषयमा अझै सहमति बन्न सकेको छैन ।
यसैबीच तेहरानमा इरानी अधिकारीहरू र पाकिस्तानका सेनाप्रमुख असिम मुनीरबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ । मुनीर यसअघि नै तेहरान पुगेर इरानका विदेशमन्त्री अब्बास अराघाचीसँग भेट गरिसकेका छन् । उनी अमेरिकाको सन्देश लिएर गएको बताइएको छ । यस वार्तामा पाकिस्तान, इजिप्ट र टर्कीलाई मध्यस्थकर्ताको भूमिकामा राखिएको छ ।
उता अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्स, स्टीव विटकोफ र जेरेड कुश्नर वार्तामा सक्रिय रहेको र प्रस्तावको मस्यौदा आदानप्रदान भइरहेको बताइएको छ ।
अधिकारीहरूका अनुसार सम्झौताको सम्भावनाका लागि युद्धविराम अवधि थप गर्ने विषयमा छलफल भइरहेको छ, तर अमेरिकाले अहिलेसम्म औपचारिक सहमति जनाएको छैन ।
अमेरिकी पक्षले होर्मुज जलडमरूमध्यमा बढाइएको नौसैनिक दबाब र आर्थिक अवरोधका कारण इरानमाथि सम्झौताका लागि दबाब बढेको दाबी गरेको छ । पछिल्ला दिनमा त्यहाँको अवस्थाले व्यापारिक जहाज आवतजावत प्रभावित भएको उल्लेख गरिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पछिल्ला ४८ घण्टामा इरानी बन्दरगाहतर्फ जान लागेका केही जहाजहरू फिर्ता पठाइएको दाबी गरिएको छ ।
इरानले दैनिक करिब १५ लाख ब्यारेल तेल निर्यात गर्ने गर्छ, जसबाट ठूलो आम्दानी हुने भए पनि हालको अवरोधले त्यसमा असर पर्ने अनुमान गरिएको छ । खार्ग टापुबाट हुने ठूलो हिस्साको तेल निर्यात पनि प्रभावित हुन सक्ने बताइएको छ।
यदि निर्यात ठप्प भयो भने उत्पादन नै रोक्नुपर्ने अवस्था आउन सक्ने भन्दै इरानको अर्थतन्त्र अझै दबाबमा पर्ने आकलन गरिएको छ । प्रतिबन्धका कारण पहिलेदेखि नै कमजोर रहेको अर्थतन्त्र पछिल्ला घटनाले थप संकटमा पुगेको बताइन्छ।
यसैबीच इरानको परमाणु कार्यक्रमबारे चलिरहेको वार्तामा केही प्रगति भएको दाबी गरिएको छ। पछिल्ला कूटनीतिक प्रयासपछि दुवै पक्ष समझौताको दिशामा अघि बढिरहेको उल्लेख छ । पाकिस्तानी सेनाप्रमुख असिम मुनीरको तेहरान भ्रमणलाई पनि यही कूटनीतिक प्रक्रियाको महत्वपूर्ण भागका रूपमा हेरिएको छ । यद्यपि वार्तामा प्रगति भए पनि दुवै पक्षबीच अझै मतभेद कायम रहेको र केही पक्षहरू सम्झौताप्रति असन्तुष्ट रहेको बताइएको छ ।











