चितवन । चितवनमा प्रतिनिधि सभा सदस्यमा तीन पदको लागि ५८ जनाको उमेदवारी परेको छ । चितवन १ मा २० जनाको उमेदवारी परेको छ । एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्र प्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उमेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ (क)मा ११ जना र १(ख)मा ९ जनाको उमेदवारी परेको छ ।
चितवन निर्वाचन क्षेत्र नं २ मा १८ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछानेको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । प्रदेश सभा सदस्यतर्फ क्षेत्र नं २ (क)मा ८ जना र क्षेत्र नं २ (ख)मा १४ जनाको उमेदवारी परेको उनले बताए ।
क्षेत्र नं ३ मा २० जनाको उमेदवारी परेको छ । एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, कांग्रेसबाट बागी दिनेश कोइराला र कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उमेदवारी दिएका छन् । राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उमेदवारी दिएकी छन् । प्रदेश सभा सदस्यतर्फ क्षेत्र नं ३ (क)मा ८ जना, क्षेत्र नं ३ (ख)मा ९ जनाको उमेदवारी परेको छ ।











