चितवन । श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि प्रवासमा रहेकी पत्रकार रुपा बस्नेतले आर्थिक सहयोग गरेकी छिन् ।
प्रेस चौतारी चितवनको सदस्यसमेत रहेकी बस्नेतले आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माणका लागि १५ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।
हाल बैदेशिक रोजगारीका क्रममा रहेकी बस्नेतले पत्रकारहरुको भवन निर्माण हुनु आफ्नो लागि समेत निकै खुसीको विषय भएको भन्दै भवनका लागि सहयोग गर्ने चाहना पहिलादेखि नै राखेको बताइन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवन आफ्नो लागिसमेत गौरवको विषय भएको उनको भनाई छ ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवनका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भन्दै सहयोग गर्ने पत्रकार बस्नेतलाई धन्यवाद दिए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डै ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख रुपैयाँ छ । भवनको दोस्रो तला ढलान भैसकेको छ ।
पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत वर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।










