चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले भरतपुर महानगरपालिका–१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको उपचारमा लापरबाही नभएको दाबी गरेको छ । सिएमसीले विरामीको उपचारमा लापरबाही भएको भनि अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्न पनि माग गरेको छ ।
कलेजले आज (मंगलबार) एक विज्ञप्ति जारी गरी विरामी बचाउने कलेजको प्रयास, विरामीमा भएको संक्रमणको अवस्था र उपचारको प्रोटोकल जस्ता विषयलाई बुझ्ने प्रयास नगरी लापरबाही गरिएको भनि गरिएको गलत प्रचारप्रति दुःख व्यक्त गरेको छ ।
विरामी कुँवर हिजो (सोमबार) दिउँसो १२ः१५ बजेको समयमा गम्भिर अवस्थामा सिएमसीमा भर्ना भएका थिए । उनको आइसियूमा राखेर उपचार गर्ने क्रममा सोहि दिन साँझ ५ः१५ बजे मृत्यु भएको हो ।
उनको सेभर एक्युट प्यानक्रियाटाइटिस् वीथ सेप्टिक सक्ड वीथ एआरडिएस वीथ एकेआई वीथ सेभर एण्ड मेटाबोलिक एसिडोसिसको कारणले मृत्यु भएको कलेजले विज्ञप्तिमा जनाएको छ ।
हुलले लापरबाहीको संज्ञा दिएर कलेजको मेडिकल आइसियू, अस्पतालको मुख्यद्वार, उपचार गर्ने महत्वपूर्ण ठाउँहरु, सवारी साधनमाथि गरिएको तोडफोडमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न र अस्पतालमा भएका क्षतिको क्षतिपूर्ती दिलाउन हामी जोडदार माग गर्दछौँ’, कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।











