चितवन । यस वर्षको बडा दशैँको मुख्य दिन भोलि विजया दशमी । विजया दशमीको दिन मान्यजनको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिने प्रचलन छ ।
यस वर्ष विजयादशमीको साइत भोलि असोज १९ गते (बुधबार) बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। भोली बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
दशैँको टिका पूर्वी मोहडा गरेर लगाउँदा उत्तम हुने समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ। विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपालीहरु मान्यजनको आशीर्वाद थाप्न घर फर्कने क्रम अझै जारी छ । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।
बडा दशैँको नवरात्र असोज १० गतेदेखि सुरु भएको हो । दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्। यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।












