चितवन । घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेलको बाघले आक्रमण गर्दा ज्यान गएको हो ।
घाँस काट्नका लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगिताल गएका पौडेललाई बिहान पौने १० बजे तिर बाघले आक्रमण गरेको चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।
चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनी हुँदै आएको हो । यो आर्थिक वर्षको साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा ३ जनाको निधन भइसकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।











