काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ती गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उनले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गरिन्।
उनले परिवर्तनका लागि लड्ने नेताका रूपमा शङ्खधर साख्वाःलाई आफूले चिनेको र देशमा सङ्घीयता आउनु पनि शङ्खधरले देख्नुभएको सपना रहेको बताइन्।
मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवतलाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिइन्। उनले भनिन्, “बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ।”
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको संरक्षण र संवर्द्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा नेपाल भाषा विषय पढाउन थालिएको जानकारी गराइन्।
प्राथमिक तहमा पढाइ हुने स्थानीय भाषाले सबै जनालाई भाषा सिक्ने अवसर प्रदान गरेको उनको भनाइ थियो।
महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले श¬ङ्खधर साख्वाः सम्पूर्ण नेपालीको भएको बताए। नेपाल संवत्का प्रवर्तक शङ्खधर काठमाडौँका व्यापारी साथै समाजसेवी पनि थिए।
तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने उहाँले गरिब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्को दाबी छ।
राघवदेवको पालामा साख्वाःले नेपालीहरूको ऋणमोचन गरिदिएको खुसीयालीमा विसं ९३६ मा नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासकारको भनाइ छ।











