काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिए । उनले सामाजिक सञ्जालमाथि प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको उल्लेख गरे ।
जनताको मन जितेर मात्र सत्ता टिक्ने उनले बताए । जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरूको चाँडै अन्त्य हुने उनको भनाइ थियो । ‘अहिले बजारमा हल्ला छ– २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरू कामेका पनि छन् । फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि त’, उनले भने ।
जनताको मुख थुनेर सत्ता टिकाउन सजिलो नहुने भन्दै उनले त्यस्तो सोँच्ने शासकको छिट्टै अन्त्य हुने बताए । ‘जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु भनेर हुन्छ त ? कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ । आत्तिनु पर्दैन’, उनले भने । देशमा अब राजतन्त्र फर्कने कुरा सम्भव नरहेको उनले बताए । उनले सम्पूर्ण कम्युनिस्ट एक ठाउँमा उभिनुपर्नेमा पुनः जोड दिए ।












