चितवन । चितवनमा शुक्रबार दुई जना पुरुष मृत फेला परेका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१२ घर भई भरतपुर–९ स्थित प्रकाश अर्यालको घरमा कोठा भाडामा लिई बस्दै आएका अन्दाजी ३५ वर्षीय सोराज मल्ल शुक्रबार बिहान ९ः४० बजे मृत फेला परेका हुन् । रङ पेन्टिङको काम गर्ने मल्ल आफ्नै कोठामा घोप्टो परेको अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । पोष्टमार्टमका लागि शवलाई भरतपुर अस्पताल पठाइएको छ ।
त्यस्तै, शुक्रबार नै भरतपुर–११ स्थित नवजागृती सामुदायिक वनको छेउमा दारेचोक बस्ने ६९ वर्षीय लोकबहादुर बस्नेत मृत फेला परे । मृतकको शरिरमा चोट नदेखिएको र अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक गएराति ११ बजे अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारको क्रममा बिहान १ बजे मृत्यु भएको छ । हालसम्म पहिचान नखुलेको मागि खाई हिँड्ने अन्दाजी ३२ वर्षीय पुरुष मादक पदार्थ सेवन गरी अचेत अवस्थामा फेला परेका थिए ।
उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई भरतपुर अस्पतालकै शव गृहमा राखिएको छ ।












