काठमाडौं । चीनबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरसविरुद्धको ४० लाखमात्रा सिनोभ्याक खोप खेर जाने भएको छ ।
सेवा विभागको व्यवस्थापन महाशाखाका अन्तर्गतको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार कोरोना भाइरसविरुद्धको ४० लाख साइनोभ्याक खोप डिसेम्बर महिनामा खेर जाने भएको हो ।
चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख गरी ४० लाख खोप नेपाल भित्रिएको थियो । खोपले अस्पतालमा भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी रहेको विभिन्न अध्ययन देखाएको छ ।
उनले भने, “बुस्टर डोज प्रयोग गर्न अयोग्य भएपछि उक्त खोप प्रयोगमा आएको थिएन । सोही खोपको म्याद सकिन एक महिनामात्र बाँकी छ । डिसेम्बर महिनामा उक्त खोपको म्याद सकिँदै छ ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिले सिनोभ्याकको खोप बुस्टर डोजको लागि योग्य नभएकोले बुस्टरको रूपमा प्रयोग नगर्न आग्रह गरेको थियो।
बुस्टर डोजका लागि योग्य नभए पनि पहिलो र दोस्रो डोजको लागि प्रयोग गर्न डब्लुएचओको सुझाव थियो। खोप उपलब्ध हुँदा अधिकांश नेपालीले पहिलो खोप लगाइसकेका थिए त्यसैले त्यो खोप प्रयोगमा नआएको चौरासियाको भनाइ छ ।
हाल उक्त खोप टेकुस्थित केन्द्रीय भण्डार कक्षमा रहेको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाले बताए । व्यवस्थापन महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई खोप खेर जान लागेको विषयमा उचित व्यवस्थापनका लागि पत्राचार गरिसकेको चौरासियाले जानकारी दिए ।