काठमाण्डौ । विश्व कप क्रिकेटमा इंग्ल्यान्डले पहिलो खेल जितेको छ । भारतमा जारी विश्व कपमा मंगलबार बंगलादेशलाई १ सय ३७ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले दोस्रो खेलमा पहिलो जित दर्ता गरेको हो । ३ सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २ सय २७ सिति भएको थियो ।
बंगलादेशका लागि ओपनर लिटन दासले सर्वाधिक ७६ रन बनाए । उनले ६६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मुष्फिकर रहिमले ६४ बलमा ५१ रन जोडे । उनले ४ चौका हाने । यस्तै टाउहिद हृडोयले ६१ बलमा ३९ रन बनाए । तास्किन अहमदले २५ बलमा एक छक्का सहित १५ रन जाडे । महेदी हसनले ३२ बलमा १४ रन बनाउँदा सोरीफुल इस्लाम १२ रनमा आउट भए । मेहेदी हसन मिराजले ८ रन मात्र बनाउन सके । कप्तान सकिव अल हसनले १ रनमा आउट भए । ओपनर शान्टोले खाता खोल्न सकेनन् भने मुस्ताफिजुर रहमान ३ रनमा अविजित रहे।
इंग्ल्याण्डका लागि रिस टोप्लीले १० ओभरमा ४३ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । क्रिस वोक्सले २ तथा स्याम करन, मार्क वुड, आदिल रशिद र लियाम लिभिङस्टोनले समान १ विकेट लिए । पहिलो इनिङमा ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाई ३ सय ६४ रन बनाएको हो। इंग्ल्याण्डका लागि डेविड मलानले शतकीय पारी खेले। उनले १ सय ७ बलमा १६ चौका र पाँच छक्का सहित १ सय ४० रन बनाएका हुन् । जो रुटले ८ चौका र एक छक्का सहित ६८ बलमा ८० रन बनाए ।












