काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे।
हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए।
रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताएका छन्। यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ ।
उनले भने, “माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ ।”
सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उहाँले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए। सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकिकरण किन हुनसकेको छैन भनी प्रश्न गरे।











