काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।
बुधबार दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन्। सो अवसरमा उनले कृष्ण मन्दिरभित्र भगवान् श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहणसमेत गरे।
आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गर्छ। हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ।
भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ। किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको थियो। त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो।











