चितवन। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन्।
सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उनले अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताएका छन्।
“यो मेरो मात्रै नभइ सरकारको पनि सङ्कल्प हो। यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भने। यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे। भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उनले भने, “हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ।”
‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले भने “यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहिनता, ठगीको विरुद्धमा उभिएको छ। यस अभियानलाई निरन्तरता दिनेछौँ।”











