भरतपुर । प्रथम प्राविधिक फुटसल प्रतियोगिता २०२३ नकआउट फुटसल टुर्नामेन्टको उपाधी भरतपुर हस्पिटल ‘बी’ डाक्टर टिमले जितेको छ । ‘लेट्स किक फर हेल्थ’ भन्ने नारासहित चितवन फुटसलको आयोजना र भरतपुर सिटी फुटसल क्लबको संयोजनमा भएको प्रतियोगितामा २० वटा टिम सहभागी भएका थिए ।
शनिबार भएको फाइनल खेलमा भरतपुर हस्पिटल ‘बी’ डाक्टर टिमले एशोसियसन अफ चार्टड एकाउन्टेन्ट टिमलाई ट्राईब्रेकरमा हराएको हो । निर्धारित समयको खेलमा दुवै टिमले २–२ गोल गरेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । विजेता टिमले ३५ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने द्धितिय भएको चार्टड एकाउन्टेन्टको टिमले १५ हजार १११ रुपैयाँ पुरस्कार पाएको प्रतियोगिता सह–संयोजक इन्जिनियर अभिषेक श्रेष्ठले बताए ।
भरतपुर हस्पिटल ‘बी’ डाक्टर टिम सेमिफाइनलमा भरतपुर सिटी फुटसल क्लबलाई हराएर फाइनलमा पुगेको थियो । त्यस्तै, एशोसियसन अफ चार्टड एकाउन्टेन्ट टिमले सेमिफाइनलमा टिम फार्मेसीलाई हराएर फाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगितामा भरतपुर हस्पिटल ‘बी’ डाक्टर टिमका डा निरज पौडेल ‘मेन अफ द सिरिज’ घोषित भए । उलने प्रमाणपत्र र ट्रफि प्राप्त गरेको श्रेष्ठले जानकारी दिए । प्राविधिकहरु बीचको फुटसल प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने निर्णय भएको उनले बताए ।












