चितवन । मित्र मिलन समाज नारायणगढले जोरकुसुम पार्कमा मित्र मिलन विश्राम स्थल निर्माण गरेको छ । पार्कमा पुगेका पर्यटकलाई विश्राम गर्न एवम् हावापानीबाट जोगिनका लागि समाजले विश्राम स्थल निर्माण गरेको हो । भरतपुर–१ अन्तर्गत पर्ने नारायणी नदी किनारमा रहेको जोरकुसुम पार्कमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
मित्र मिलन समाजका ३५ जना सदस्यले उठाएको र संस्थाको कोषको रकम गरी ८ लाख ४६५ रुपैयाँबाट विश्राम स्थल निर्माण गरिएको समाजका सदस्य जयराम खत्रीले बताए । करिब ५० जना बस्न मिल्ने क्षमताको विश्राम स्थलको भरतपुर महानगरपालिका–१ का वडा अध्यक्ष केशव महर्जनले आज (शनिबार) उद्घाटन गरेका हुन् । उद्घाटनपछि उक्त विश्राम स्थल जोरकुसुम पार्क निर्माण समितिलाई हस्तान्तरण गरिएको हो ।
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउने तयारी गरिरहेका बेला जोरकुसुम पार्क पर्यटकिय गन्तव्य भित्र परेको वडा अध्यक्ष महर्जनले बताए । पार्कमा निर्माण भएको विश्राम स्थल बहुउपयोगी बन्ने बताउँदै उनले बजार नजिकै रहेको यस पार्कलाई अझ व्यवस्थित र आकर्षक बनाइने बताए । पार्कमा मोज्याक टायल हालेर पैदल मार्ग बनाइएको छ । सामुहिक तरिकाले सुविधा सम्पन्न शौचालय निर्माण गर्न उनले आह्वान पनि गरे ।
मित्र मिलन समाज नारायणगढका अध्यक्ष बलराम जोशीले सदस्यहरुको सामुहिक प्रयासबाट विश्राम स्थल निर्माण सम्भव भएको बताए । विश्राम स्थल बनाउन कुनै संस्था वा निकायसँग आर्थिक सहायता नदिइएको बताउँदै उनले विश्रामको संरक्षणको जिम्मा अब पार्क निर्माण समितिको भएको बताए । मित्र मिलन विश्राम स्थल निर्माण गर्न मित्र मिलन समाजले श्याम कुमार श्रेष्ठको संयोजकत्वमा विश्राम स्थल निर्माण उपसमिति बनाएको थियो ।
जोरकुसुम पार्क निर्माण समितिका अध्यक्ष मदनलाल श्रेष्ठले मित्र मिलन समाजलाई धन्यवाद दिए । विश्राम स्थलको संरक्षण गर्दै सदुपयोग गरिने उनले बताए । पार्कमा अझ धेरै काम गर्न बाँकि रहेको पनि उनले बताए ।













