काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) जनताको हितमा नरहेको बताएका छन्।
समाजवादी मोर्चाले कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै विप्लवले यसको विरुद्धमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लड्ने विश्वास व्यक्त गरे।
‘एमसिसी जनताको हितमा छैन। यसविरुद्ध प्रचण्ड लड्नुहुन्छ भन्ने विश्वास छ। अर्को खराब मान्छे आउनेवित्तिकै अनेक चलखेल हुन सक्छ।’ विप्लवले भने, ‘अनुदान हो भने ठिक छ तर त्यसका नाममा हस्तक्षेप, नियन्त्रण र उपनिवेशवाद स्विकार गर्न सकिन्न। नेपाल कुनै पनि सैन्य मोर्चामा जान सक्दैन।’
विप्लवले समाजवादी मोर्चा क्रान्तिको प्रतिक भएको पनि दाबी गरे । राष्ट्रहित र प्राप्त उपलब्धीको रक्षाका लागि मोर्चा एकढिक्का रहेको उनको भनाइ छ।
‘अरु कुरामा हामी चार दलबीच फरक मत हुन सक्छ’, विप्लवले भने, ‘क्रान्तिद्वारा प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व र देशलाई युक्रेन बनाउन चाहने तत्वहरु, कहिले पनि कसैको अधिनमा नरहेको नेपाललाई उपनिवेशन बनाउन चाहने साम्राज्यवादी तत्वहरुविरुद्ध हामी लड्छौं, एकढिक्का छौं।’











