चितवन । लागुऔषध खैरो हेरोइनको कारोबार गरेको आशंकामा चितवन प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले भरतपुर महानगरपालिका–१५ सूर्यनगर च्यानडाँडाबाट सोमबार राती ८ः१५ बजेको समयमा १०.५ ग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर–१५ बस्ने २२ वर्षीय सन्तोष परियार, २३ वर्षीय प्रशन्न गुरुङ, वडा नं १९ बस्ने २२ वर्षीय यमबहादुर आले मगर, वडा नं २० बस्ने ३० वर्षीय तुलबहादुर गुरुङ, देवचुली नगरपालिका–१५ घर भई हाल भरतपुर–१५ बस्ने २३ वर्षीय चेतबहादुर क्षेत्री र वडा नं २७ मेघौली बस्ने ३६ वर्षीय सुरेस महतो रहेका छन् ।
उनीहरुको साथबाट स्टिलको थाल २ थान, अर्ध जलेको अवस्थामा पाँच र १० रुपैयाँको गरी नौ थान नोट, लाइटर चार थान, चुरोट १२ खिल्ली, टुक्रा पारेको अवस्थाको व्लेड ८ थान, सिक्का ३ वटा, प्लाष्टिकको स–साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको उनले बताए ।












