चितवन । सरकारले भारतबाट दूध आयात पुनः सुरु गर्न लागेको भन्दै चितवनका दुग्ध व्यवसायी रुष्ट बनेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले मंगलबार पत्रकार सम्मेलन गरेर स्वदेशमानै लगानी गरेर किसानलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले किसानलाई विस्थापित गर्नु गलत रहेको भन्दै विरोध जनाएको छ ।
सरकारले १ लाख २० हजार लिटर दूध आयातका लागी अनुमती दिएकोले विरोध जनाएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणी न्यौपानेले बताए । सरकारले उक्त निर्णय फिर्ता नलिए आन्दोलन गर्ने अध्यक्षले चेतावनी समेत दिएका छन् ।
चितवन दूधमा आत्मनिर्भर जिल्ला हो । चितवनमा दुधालु गाई र भैंसीको संख्या ६८ हजार ६११ रहेको छ । न्यौपानेका अनुसार चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ । उक्त दुधको ४५ प्रतिशत दूध बाहिरी जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीमा निर्यात हुने गरेको छ ।
चितवनका किसानहरुको जीवनयापनमा सहयोग गरेको पेशालाई विस्थापित गर्नु सरकारको कमजोरी रहेको न्यौपाने बताउँछन् । कृषि तथा पशुपक्षी मन्त्रालयले भने डेरी उद्योगले माग अनुसार दूध नपाएपछि असोज मसान्तसम्म मात्रै दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न दिने निर्णय भएको बताएको छ ।











