चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले रास्वपाका शुभेच्छुकलाई विभेद गरेको जानकारी आएको बताए ।
‘भोट हाल्ने बेलामा घण्टीमा हाल्ने अनि विकास चाहिए हामीकहाँ आउनुहुन्छ भन्नुहुन्छ रे’, उनले भने, ‘ठिकै छ, हामी सहेर बसौँ । स्थानीय सरकार र केन्द्रमा पनि रास्वपा घण्टी बजाउँदै आउने दिन कति टाढा छ र । चार वर्ष ठूलो कुरा होइन ।’ जनप्रतिनिधिले लगाएको बचनलाई साँचेर राख्न उनले आग्रह गरे ।
स्थानीय तहका जनप्रतिनिधिसँग भेट्न पनि गाह्रो भएको उनले बताए । ‘स्थानीय सरकारका प्रतिनिधिसँग त चाह्यो भने पनि भेटघाट हुन गाह्रो छ । कुरा हुन पनि गाह्रो छ । रास्वपा आयो भनेपछि यीनीहरुलाई सहयोग नगर है भन्छन्’, उनले स्पष्ट गर्दै भने, ‘देशैभरीको कुरा गरेको हो है मैल । चितवनको मात्र भनेको होइन ।’
चितवन २ को उपनिर्वाचनमा निर्वाचित भएको सय दिन पुग्न केहि दिन मात्रै बाँकी छ । आफुले गरेका वाचाको प्रगतिबारे थाहा दिन साउन १७ गते विशेष कार्यक्रम गर्न लागेको उनले बताए । सामान्य सांसदको लागि सय दिन पर्याप्त समय नहुने भन्दै उनले चुनावमा बोलेर र लेखेर गरेका वाचा कति पुरा गरेँ भन्ने जानकारी दिन मात्रै चाहेको बताए ।












