काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन्। उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे। उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए। उहाँले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए।
‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आबद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाई उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ। साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन’, उनले भने।
नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो, मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने उनले बताए।
‘नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठीक भएर भएन पारा ठीक हुनुपर्छ। पारा ठीक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ। यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो। रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन’, उनले भने।
सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे। उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए।












