काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भुमिका आवश्यक रहेको बताएका छन्।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
अर्थमन्त्री महतले सरकारी निकायहरुले समन्वयकारी रुपमा एक अर्कालाई सूचना आदानप्रदान गरी काम गर्नुपर्ने बताए। उनले एउटा मात्रैको भूमिकाले राम्रो परिणाम आउन नसक्ने बताए।
उनले करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको बताए।
उनले सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले काम गर्दा गैरकानुनी गतिविधिलाई न्यूनीकरण गर्न सकिने बताए।
उनले विमानस्थलमा रहेका राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयात्मक भूमिका भए मात्रै गैरकानुनी गतिविधि कम गर्न सकिने उल्लेख गरे।
अर्थमन्त्री महतले अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेको भन्दै विमानस्थल भन्सारमा जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नति गर्नुपर्ने बताए।
उनले प्रविधिलाई स्तरोन्नति गर्नका लागि चाहिने प्रविधि, जनशक्ति अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने प्रतिबद्धता जनाए।
अर्थमन्त्री महतले विमानस्थल भन्सारमा गैरकानुनी रूपमा भइरहेका गतिविधिलाई अनुसन्धानमा जोडिएका निकायहरुले निगरानी गर्नुपर्ने बताए। उनले अपराध गर्ने मानसिकता भएका व्यक्तिहरुले यात्रुको रुपमा वा कार्गोमार्फत व्यापारको नाममा दुरुपयोग गर्ने प्रयास गर्ने गरेको भन्दै उनीहरुको प्रयास विफल बनाउन सबै निकायहरु शतर्कताका साथ काम गर्नुपर्ने बताए।
अर्थमन्त्री महतले कुनै बहानामा सरकारी निकायहरुले उदासिनता देखाउने वा आ–आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने कुरा मान्य हुन नसक्ने बताए।
उनले अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरूले समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाएको पनि बताए।
उनले भने,‘विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वयकारी भूमिका हुनुपर्यो र एक अर्कालाई सहयोग पुर्याउनुपर्यो। त्यो भयो भने मात्रै गैरकानूनी गतिविधि कम भएर जान्छ। अपराध गर्ने मनसाय भएका, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँनयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्। सरकारले भन्सारमा भएको प्रविधिलाई त्यही अनुसार अपग्रेड गर्नुपर्छ। भन्सार छलेर पतालगाउन नसक्ने गरी फुत्कन नपाउनु। कुन गैरकानूनी रुपमा गतिविधि भइरहेको छ। त्यो कुरालाई अनुसन्धानमा जोडिएकाहरुले निगरानी गरिराख्नुपर्छ।’
उनहाँले आउँदा दिनमा कुनै पनि छुट, कुनै पनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास गर्ने निर्देशन दिएको बताए।
उनले त्रिभुवन विमानस्थल भन्सारबाट एक क्विन्टल सुन कसरी बाहिरिन सफल भयोरु भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए। उनले विमानस्थलको भन्सारमा आधिकारिक व्यक्तिबाहेक जोसुकै व्यक्ति भए पनि भन्सारको निश्चित प्रक्रिया पूरा गरेर मात्रै प्रवेश दिन आग्रह गरे।












