काठमाडौं। फिफा विश्वकप फुटबल र एएफसी एशियन कप २०२७ को एशिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।
मलेसियाको क्वालालम्पुरस्थित एशियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज ९बिहीबार० सार्वजनिक भएको खेल तालिकाअनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो। नेपालले लाओससँग होम एन्ड अवे गरी २ खेल खेल्नेछ।
आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ। यस खेलमा नेपालले विजय हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ। फिफा विश्वकप छनोटमा विभिन्न ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
एशियन कप छनोटमा भने २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। विश्वकप फुटबल र एएफसी एशियन कप छनोटको पहिलो चरणमा विभिन्न २० राष्ट्रले खेल्नेछन्।
यसमा नेपाल र लाओससँगै अफगानिस्तान र मङ्गोलिया, माल्दिभ्स र बङ्गलादेश, सिङ्गापुर र गुआम, यमन र श्रीलङ्का, म्यानमार र मकाउ, कम्बोडिया र पाकिस्तान, चाइनिज ताइपेई र इस्ट टिमोर, इन्डोनेसिया र ब्रुनाई तथा हङकङ र भुटानबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ।












