चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति भएको दाबी गरेका छन् । आज संविधान दिवस–२०७९ को शुभकामना सन्देश दिँदै प्रचण्डले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पु¥याउने श्रेय वर्तमान संविधानलाई गएको बताए ।
प्रचण्डले आज शुभकामना वक्तव्य जारी गर्दै संविधानकै कार्यान्वयनको क्रममा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुन लागेको बताए । ‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ’, उनले वक्तव्यमा भनेका छन् ।
प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायले गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उनले अपील गरेका छन् ।












