भरतपुर । भरतपुर महानगरपालिकाले आज (बुधबार) नारायणगढको पुलचोक र पोखरा बसपार्कका होटल, मासु र किराना पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका अधिकांश पसलले दुर्गन्धित र म्याद गुज्रिएका खानेकुरा विक्री गरेको पाइएको छ ।
अनुगमन टोलीले पोखरा बसपार्कस्थित पुरानो ताहिर मासु पसलको फ्रिजमा सडेर गन्हाएको अवस्थामा खसिको खुट्टा र टाउका भेटेको छ । उक्त वस्तु अनुगमन टोलीले बरामद गरी महानगर परिसरमा ल्याई खाल्डो खनेर नष्ट गरेको छ । त्यस्तै, दुर्गन्धित खानेकुरा विक्री गर्ने पुलचोकको मार्फा रेष्टुरेन्ट र होटल डिडि बन्द गरिएको छ ।
लापरबाही गर्ने सात वटा पसललाई पाँच हजार रुपैयाँका दरले ३५ हजार रुपैयाँ जरिवाना तिराइएको अनुगमन समितिका सदस्य एवम् भरतपुर महानगर नगरकार्यपालिका सदस्य विष्णु भुजेलले जानकारी दिए ।
जरिवानामा पर्ने पसलहरुमा पुलचोकको विरेन्द्र होटल, अमृत होटल, मार्फा रेष्टुरेन्ट, होटल डिडि, भानु स्टोर्स र पोखरा बसपार्कको ताहिर मासु र खगेश्वर रेग्मीले सञ्चालन गरेको फलफुल तथा किराना पसल रहेका छन् ।













