एजेन्सी। ग्रीसमा आगलागीका घटना नियन्त्रण गर्न गएको वायुसेनाको विमान मंगलबार दुर्घटना भएको छ। ग्रीक फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेका छन्।
ग्रीसको रक्षा मन्त्रालयले मंगलबार जारी एक विज्ञप्तिमा उक्त विमानमा दुई जना पाइलट रहेको र दुवैको मृत्यु भएको जनाएको छ।
देशका धेरै क्षेत्रहरूमा तीव्र हावाको कारण जंगल र वरपरका वस्तीमा खतरनाक डढेलोको जोखिम भएको भन्दै ‘रेड अलर्ट’ सूचना जारी गरिएको छ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गत साता मात्रै ३५ हजार हेक्टर (८६ हजार ५ ०० एकड) वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ।
राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस (१०६ डिग्री फरेनहाइट) र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ता ईएमवाईले जनाएको छ। ग्रीसको कोर्फु टापुबाट सोमबार करिब दुई हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।












