काठमाडौँ । राजस्व अनुसन्धान विभागले १०० किलो सुन प्रकरणमा पाँच दिनपछि बल्ल नेपाल प्रहरीको सहयोग मागेको छ। सुन प्रकरणमा प्रहरीलाई समेत सुईंको नदिइ छापा मारेको विभागले अन्ततः अनुसन्धान प्रभावकारी नहुने देखेपछि प्रहरीको सहयोग मागेको हो ।
नेपाल प्रहरीको उच्च श्रोतले विभागबाट अनुसन्धानका लागि प्रहरीको माग भइआएकाले प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीको नेतृत्वमा टोली पठाइएको थाहाखबरलाई जानकारी दिएको छ । विभागले अहिलेसम्म पक्राउ परेका १६ जनामा सुन तस्करका मुख्य व्यक्तिहरु पक्राउ गर्न सकेको छैन।
सुन ल्याएको कम्पनीका एक जना सञ्चालक, केही एजेन्ट, कार्गो कम्पनीका प्रतिनिधि र सहयोगी मात्रै पक्रन सफल विभागले अन्ततस् अनुसन्धान प्रभावकारी हुन नसकेपछि प्रहरीसँग सहयोग मागेको बताइएको छ।
अहिलेसम्म विभागले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली रहेका छन्। यस्तै कार्गो कम्पनीका सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पनि पक्राउ परेका छन्।
यसैगरी साउन ३ गते १०० किलो सुन बरामद भएको दिन सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परेका छन् । उनीहरुमाथि म्याद लिएर अहिले अनुसन्धान भइरहेको छ।












