काठमाडौँ । यतिबेला देशभर डेंगुको महामारी फैलिरहेको छ । काठमाडौँका अस्पताल डेंगुका विरामीले भरिएका छन् भने अन्य जिल्लामा पनि डेंगुको विरामीको चाप बढ्दो छ । यहि बेला सरकारले भने सिटामोलको मूल्य बढाउने तयारी गरेको छ ।
सामान्यतः दुखाइ कम गर्न तथा ज्वरो घटाउन सिटामोल आधारभूत औषधि हो । औषधि व्यवस्था विभागले यसलाई अत्यावश्यक औषधिको सूचीमा सूचीकृत गर्दै आएको छ । सरकारले स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्नुपर्ने औषधिको सूचीमा सिटामोल दोस्रो नम्बरमा छ ।
तर स्वास्थ्य मन्त्रालयले भने १ रुपैयाँ पर्ने सिटामोलको मूल्य ६ रुपैयाँसम्म बढाउने तयारी गरेको स्रोतले बताएको छ । मूल्य बढाउने विषयमा निर्णय गर्न आज मन्त्रालयमा औषधी परामर्श समितिको बैठक बस्दै छ । त्यस्तै, जीवनजलको मूल्य १० रुपैयाँबाट बढाएर २५ रुपैयाँ पुर्याउने तयारी गरिएको छ ।
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले भने सिटामोलको मूल्य बढाउने कुरा हल्ला मात्र भएको बताए । तत्काल सिटामोलको मूल्य नबढ्ने भन्दै उनले डेंगु संक्रमणका कारण बजारमा सिटामोल अभाव रहेकाले छलफल गर्न लागिएको बताए ।











