धनगढी । अछामका विभिन्न स्थानमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोमा परेर हालसम्म ६ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।
अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।
उनकाअनुसार कमलबजार नगरपालिका–८ मा एकै परिवारका पाँच जनाको शव निकालिएको छ भने कमलबजार–६ ठाँटीकाँधमा बेपत्ता तीनै जनाको शव फेला परेको छ । ठाँटीकाँधमा यसअघि निकालिएको चार जनाको गरी सात जनाको मृत्यु भएको छ । यस्तै, तुर्माखाँद–५ मा दुई घर पुरिँदा चार जनाको शव फेला परेको छ । अन्य पाँच जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ढकारी गाउँपालिका–६ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको रिजालले बताए । तीनै मृतकको सनाखतको प्रक्रिया सुरू भएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार बेपत्ताहरूको खोजी तीव्र पारिएको छ ।











