काठमाडौं । सरकारले प्राकृतिक विपत्तिको पूर्व तयारी भएको दाबी गरे पनि गत १७ दिनमा विपत्तिबाट देशभर २० जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोमा परी बेपत्ता भएका २८ जनाको अवस्था अज्ञात छ भने बाढी‚ पहिरो र चट्याङमा परी २६ जना घाइते भएका छन्।
मनसुन सुरु भएको एक महिना नबित्दै ६ सय परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्काले जानकारी दिए। उनले प्राकृतिक विपत्तिका घटनाले ६ करोड ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको बताए।
गत जेठ ३१ देखि असार १६ गतेसम्म चट्याङबाहेक बाढीपहिरोमा परी २० जनाको मृत्यु भएको छ भने प्रभावित परिवार ५४१ रहेको उपसचिव खड्काले बताए। उनका अनुसार बाढीपहिरोबाट ५ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सरकारले विपद्अघि पूर्वतयारी नगरेको आरोप पनि लाग्दै आएको छ। प्राधिकरणले भने यसअघि खोज उद्धार र राहतका लागि आवश्यक सामग्री र जनशक्ति दुवै हिउँदमै जिल्ला जिल्लामा पुर्याएको दाबी गरेको छ।
विपद्को पूर्वतयारी अन्तर्गत जनशक्तिलाई तालिम दिएर प्रत्येक जिल्लामा खोज उद्धारका सामग्रीसहित हिउँदमै खटाइएको प्राधिकरणले बताएको छ। राहतका लागि संघीय सरकारले दिने रकम समेत प्राधिकरणले जिल्लामा पठाइसकिएको बताएको छ। राहतबापतको रकम प्रत्येक जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइएको हो।
राहतबापतको रकम तराईका जिल्लामा प्रतिजिल्ला २५ लाख रुपैयाँ, पहाडी जिल्लामा २० लाख र हिमाली क्षेत्रका जिल्लामा १५ लाखका दरले दिने निर्णय सरकारले गरेको थियो। सोही निर्णयानुसार प्राधिकरणले कोषमा राहत रकम पठाएको हो।












