चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ छ लेन सडक विस्तारको काम ८५ प्रतिशत सकिएको छ । ६.०८ किमी लामो यो सडक खण्ड विस्तारको १५ प्रतिशत मात्रै काम बाँकी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
आगामी मंसिरभित्र निर्माण सम्पन्न हुने गरी सडक विस्तारको काम भईरहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको शिलान्यास गरेका थिए ।
सडक विस्तारको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको हो । एक अर्ब १२ करोड रुपैयाँ लागतमा सडक विस्तार हुन लागेको हो ।
५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड गर्ने योजना छ ।
सडकको दायाँबायाँ ११.५/११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर ३ देखि ४ मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।












