काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ।
नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ। समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ।
टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन्।
नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। जिम्बाब्वे सुपर लिगबाट झरेको हो। छनोटको तयारी स्वरुप नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो। खराब ब्याटिङ गरेको नेपाल दुवैमा पराजित भयो।
प्रतियोगितापूर्वको अन्तिम वार्मअपमा भने नेपालले ओमानलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेलले शतक प्रहार गरेका थिए। पहिलो वार्मअपमा भने नेपाल यूएईसँग हारेको थियो।












