काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गरी गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छन्। काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षक माथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताइन्।
उनले बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेको तर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
‘नेपालमा आवश्यकताको आधारमा भन्दा बढी बिना अध्ययन, बिना सर्भे, पहुँचका आधारमा बजेट विनियोजन भएको महसुस भएको छ। यतिसम्म लापरबाही कि हुँदै नभएको स्थानको सृजना गरेर समेत बजेट विनियोजन भएको जस्तो मैले महसुस गरेको छु। यहाँ यो रातो कितावमा एउटा ठाउँमा लेखिएको छ। काठमाडौं ३५ खहरे, मूलपानी.. अन्य अन्य। तत्कालीन समयमा काठमाडौं ३५ थियो होला। संविधान जारी भएर दुइटा आवधिक निर्वाचन भइसक्यो। अझै पनि काठमाडौं ३५ ? कहाँबाट सृजना भयो ? यो हुँदै नभएको स्थान सृजना गरेर बजेट विनियोजन गरेको जस्तो। यो कुरा चाँही मलाई चित्त बुझेन। हुन सक्छ मैले कताकता न्यूजमा पनि सुनेको थिए–सरकारको तर्फबाट यो प्रिन्ट मिस्टेक भन्ने कुराहरू आएको छ। आज बजेटको सवालमा प्रिन्ट मिस्टेक भन्नु होला। भोली कानून पनि प्रिन्ट मिस्टेक भएर आउला’, उनले भनेकी छन् ।











