काठमाडौं। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले घुस खाएर थुपारेको पैसा बुढेसकालमा काम नलाग्ने भन्दै भ्रष्टाचार नगर्न नेताहरूलाई आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा भाग लिँदै सांसद केसीले नेपालमा सबभन्दा बिजोग ज्येष्ठ नागरिकको रहेको बताए।
‘यहाँ ज्येष्ठ नागरिकको सबभन्दा बिजोग छ । म पनि ज्येष्ठ नागरिक हुँ । धनसम्पत्ति कमाउनेले के विचार गर्नुपर्छ भने तपाईँले घुस खाएर भ्रष्टाचार गरेर थुपारेका सम्पत्तिले तपाईं वृद्ध हुने बेला त्यसको कुनै औचित्य छैन। केसीले भने, ‘तपाईंका छोरानाति यहाँ बस्ने वातावरण छैन । बस्दै बस्दैनन्। बुद्धि छ भने भोलि बुढेसकालमा दुःख पाइन्छ भनेर घुस खान छाड्नुपर्छ।’
उनले ५१ प्रतिशत बजेट तीन जना नेताको नाममा र बाँकी अरू सांसदलाई वितरण गरेको भन्दै आक्रोश व्यक्त गरे। ‘यस्तो बजेटमाथि के छलफल गराउनुरु’ उनले थपे, ‘खर्च कटौती गर्ने हो भने गोरखा डडेलधुरा र नुवाकोटको बजेट कटौती गर्नुपर्यो।’












