काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा आगामी असार ३ गते पेशी तोकिएको छ।
न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको रिट पाँच दिनपछि आइतबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्।
यसअघि शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको निर्णय झिकाउने आदेश दिएको थियो।
सहन्यायाधिवक्ता लोकराज पराजुलीले समय बाँकी रहेकाले जवाफ पेश भइनसकेको जानकारी बताए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले संविधानविपरीत प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न भनेको छ।












