संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्।
भालुको आक्रमणमा परेर मकालु–३ थाक्रामका ३८ वर्षीय किरण राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिए।
बिहीवार दिउँसो पानी ट्याङ्की निर्माण गरेर फर्किदै गरेका राईलाई भालुले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक खड्काले बताए। भालुको आक्रमणबाट घाइते भएका राईलाई थप उपचारका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको छ।
स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि जिल्ला जिल्ला अस्पताल ल्याइएको हो। भालुको आक्रमणबाट उनको तिघ्रो र शरीरका विभिन्न भागमा चोट लागेको छ। निकुञ्ज क्षेत्रभित्र अहिलेसम्म एक दर्जन व्यक्ति भालुको आक्रमणबाट घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ।
मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा वर्षेनि भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।












