काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले एसिसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका छन्।
मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै उनले खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै सन्तुष्ट रहेको बताएका हुन्।
प्रशिक्षक देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए।
उनले एशिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरुले प्रमाणित गर्न निकै मेहनत गरेको बताए।
भारतीय मूलका प्रशिक्षक देसाईको आगमनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ। दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ।
आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धराशायी हुने स्थितिमा पुगेको नेपालको एकदिवसीय मान्यता कायम राख्दै नेपालले रोमाञ्चक सफलता हात पारेको थियो।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बहुप्रतीक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि अवसर भएको बताए।
उनले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा गर्ने बताए। एशिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको समेत बताए।
प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एशिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए।
अहिले एशिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भए पनि एशिया कप हुनुपर्ने बताए।
यता फाइनल खेलमा युएईविरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्शन झाले योजनाअनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजनाअनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए।
गुल्सन झा तेस्रो नम्बरमा ब्याटिङ गर्दै धराशायी बनेको नेपालको इनिङलाई भीम सार्कीसँगको साझेदारीमा सम्हालेर विजय दिलाएका थिए।
उनले करियरकै उत्कृष्ट ब्याटिङ गरे। गुल्सन फाइनल खेलको प्लेयर अफ दि म्याच पनि घोषित भए। अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि गुल्सनले प्रशिक्षकले दिएको भूमिकालाई निर्वाह गरेको बताए।
उता प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिए।
नेपालले एशिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने मौका अवसर आएको बताए। नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीमाथिको जित सहज भएको उनको भनाइ थियो।
रनर अप भएको युएईका कप्तान मोहम्मद वसिमले नेपालविरुद्धको खेलमा भाग्यले साथ नदिएको र गुल्सनको उत्कृष्ट खेलका कारण नतिजा गुमाउनु परेको बताए।
उनले शुरुवात राम्रो भए पनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताए। उनले योगफल झिनो भएकाले अपेक्षाअनुसार डिफेन्ड गर्न कठिन भएको बताए।
प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए। आयोजक एसिसीले सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेलाएको थियो। जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान र मूलपानी क्रिकेट मैदानमा भएका थिए। यससँगै मूलपानी क्रिकेट मैदानले एकदिवसीय मान्यता पाउँदा नेपालले एक खेल कतारसँग मूलपानी क्रिकेट मैदानमा खेल्ने अवसर पाए पनि वर्षाले अवरुद्ध भएको थियो।












