काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आग्रह गरेको छ ।
हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई निर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न आयोगले सचेत गराएको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै यही वैशाख १० गते बारा, चितवन र तनहु जिल्लामा हुन लागेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा हेलिकप्टर प्रयोग गर्न नपाइने जनाएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (६) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको रहेपनि उपनिर्वाचन हुने क्षेत्रमा यातायातको सहज पहुँच भएकोले हेलिकप्टर प्रयोग नगर्न आयोगले भनेको छ ।
आयोगले भनेको छ– ‘यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले २०८० साल वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ ।’ निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन पनि जानकारी गराएको छ ।












