काठमाडौँ । सर्वसाधारणका लागि विभिन्न क्षेत्रका ३० कम्पनीले आईपीओ जारी गर्ने भएका छन् । आईपीओ अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ ।
धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसका आधारमा अबको दुई महिनाभित्रै दुई दर्जनभन्दा बढी कम्पनीको आईपीओ बजारमा आउने जानकारहरू बताउँछन् ।
आइतबारसम्म धितोपत्र बोर्डमा आवेदन दिएका विभिन्न क्षेत्रका ३० कम्पनीले ६ अर्ब ६४ करोड ६५ लाख ५१ हजार ४ सय रुपैयाँ बराबरको (६ करोड ४३ लाख ७८ हजार ६ सय ५४ कित्ता) आईपीओ निष्कासन गर्न लागेका हुन् ।
सेयर निष्कासनका लागि आवेदन दिएका ३० कम्पनीमध्ये १६ वटा जलविद्युत् क्षेत्रका (कम्पनी) छन् । बिमा र होटल एन्ड टुरिजम्सका २/२, लघुवित्त, अन्य र उत्पादन तथा प्रशोधन क्षेत्रका ३/३ र एउटा इन्भेस्टमेन्ट कम्पनी छ । समाचार स्रोत : इकान्तिपुर











