चितवन । चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा दलहरुले घरदैलो र प्रचारप्रसारलाई तिव्र बनाएका छन् । यो क्षेत्रत्रमा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
यस पटक लामिछानेलाई हराउन सत्ता गठबन्धन र एमाले कस्सिएको छ । लामिछानेमाथि विभिन्न आरोप लगाउँदै आएका यी दुई ठूला दलले चुनावी अभियानका लागि केन्द्रिय स्तरका प्रभावशाली नेतालाई निर्वाचन क्षेत्रमा उतारेका छन् । कांग्रेसको प्रभाव क्षेत्र मानिने भरतपुर–४ लंकुको धर्मचोकमा कांग्रेस र रास्वपाले शक्ति प्रदर्शन गरेका छन् ।
सत्ता गठबन्धनले सोमबार धर्मचोकमा कोण सभाको आयोजना गरेको थियो । कोण सभामा सम्बोधनका लागि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, भरतपुर महानगर प्रमुख रेनु दाहाललगायतका नेताहरु पुगेका थिए । केहि दिनअघि सोहि ठाउँमा रास्वपा सभापति लामिछानेले शक्ति प्रदर्शन गरेकाले गठबन्धनले पनि सोहि ठाउँमा नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो ।
कोण सभालाई सम्बोधन गर्दै नगर प्रमुख दाहालले धर्मचोकको बाटो निर्माणमा लामिछानेले जस लिन खोजेको प्रसंग निकालिन् । आफ्नो पहलमा यस्ता दर्जनौँ बाटोहरु निर्माण भएको दाबी गर्दै उनले काम गरेपछि मात्रै जस लिन लामिछानेलाई आग्रह गरिन् । उनले लामिछानेलाई टुरिस्ट उम्मेदवार समेत भन्न भ्याइन् । ‘कांग्रेसलाई गुन तिर्ने पालो अब माओवादी केन्द्रको छ’, उनले भनिन्, ‘निर्वाचन भएको पाँच महिना पुग्दा नपुग्दै उपनिर्वाचन गर्नुपर्ने कसको कारणले भयो हेक्का राख्न जरुरी छ ।’
कांग्रेस महामन्त्री थापाले बाहिर कांग्रेस हुँ भन्ने र भित्र अर्कैलाई मत दिनेलाई हरि (भगवान)ले हेर्ने बताए । लामिछानेले कानुन नमान्दा चितवन २ मा उपनिर्वाचन गर्नुपरेको भन्दै उनले उत्तेजनाको राजनीतिले लोकतन्त्र बलियो नहुने बताए ।
यसअघि सोहि ठाउँमा उभिएर मतदातालाई सम्बोधन गरेका लामिछानेले यस पटक पनि धर्मचोकले धर्म गर्ने बताए । आफुले कुनै दल र उमेदवारको विरोध नगर्ने बताउँदै उनले आफुविरुद्ध घेराबन्दी भएको बताए । कोणसभामा समर्थकको राम्रो उपस्थिती देखेपछि उनी थप उत्साहित भएका थिए ।
मंसिर ४ गते भएको निर्वाचनमा यहि क्षेत्रबाट रास्वपा सभापति समेत रहेका लामिछानेले सबैभन्दा धेरै मत पाएका थिए । धर्मचोकको बाटो लामो समयसम्म नबनेर स्थानीयले हैरानी व्यहोरेका बेला भर्खर निर्वाचित भएका लामिछाने उक्त स्थानमा पुगेर स्थानीयलाई ढाडस दिएका थिए ।
ठेकेदारलाई धर्मचोकमा ल्याएर तत्काल काम थाल्न लामिछानेले निर्देशन दिएका थिए । त्यस लगत्तै भरतपुर महानगरपालिकाले पनि उक्त बाटोको काममा चासो देखायो । नगर प्रमुख रेनु दाहालले ठेकेदार लगायतका सरोकारवाला निकायलाई बोलाएर धर्मचोकको बाटो तत्काल काम सुरु नगरे कारबाही गर्ने चेतावनी दिएपछि काम सम्पन्न भएको हो । आफ्नो पहलमा बन्दै गरेको बाटोमा लामिछानेले जस लिन खोजेपछि दाहालले हस्तक्षेप गरेकी हुन् ।












