काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिएका छन्।
चितवनको कालिकानगरमा सोमबार आयोजित उपचुनाव लक्षित सभामा बोल्दै थापाले अघिल्लो चुनावमा जस्तो यसपटक बेइमानी नगर्न आग्रह गरे।
‘एक जना पनि कांग्रेसको साथीले दायाँबायाँ तलमाथि गर्नुभयो भने मैले सधैं भन्दै आएको छु । म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मनमा जसको हरि छ,अरूले नदेखे पनि हरिले देखेको हुन्छ।’ थापाले भने, ‘बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ।’
यसअघि कांग्रेस कार्यकर्ताले पनि रवि लामिछानेलाई मतदान गरेको तर्फ संकेत गर्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको उल्लेख गरे।
‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईँहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु।’ थापाले भने, ‘पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान्। यथोचित समयमा बसेर छलफल गरौंला तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’
उनले आफूहरू पाँच वर्ष खेर जान दिनुहुँदैन भन्ने पक्षमा रहेको भन्दै आफ्नै सरकारलाई पनि प्रश्न उठाइने बताए। वैशाख १० गते उपचुनाव हुने चितवन २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन्।












