काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारविरुद्ध खनिन थालेका छन्। उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस–एमालेका कमाण्डरहरूले रास्वपाका नेताहरूको आलोचना गरेर आफू र आफ्नो पार्टीका उम्मेदवार गतिलो देखाउने प्रयत्न गरेका छन्।
चितवन क्षेत्र २ मा खटिएका एमाले नेता गोकुल बास्कोटाले रवि लामिछानेप्रति लक्षित गर्दै चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेकाले अब नयाँ पालुवा पलाउने दाबी गरेका छन्।
त्यतिमात्र होइन उनले लामिछानेको कानुनी गल्तिका कारण उपनिर्वाचन हुने अवसर जुरेकोमा धन्यवाद दिँदै सत्ता गठबन्धनमा किन टाँसिएको भनेर प्रश्नसमेत तेर्स्याए।
कांग्रेसका तर्फबाट चितवनमा चुनाव जिताउने कमाण्डर बनेर पुगेका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लामिछाने पत्रकार हुँदासम्म नेता खराब तर आफू नेता भएपछि पत्रकार खराब किन देख्नुभयो भनेर प्रश्न गरे।
शर्माले चितवन पुगेर रविलाई प्रश्न सोधेजस्तै तनहुँको कमाण्डर तोकिएका अर्का महामन्त्री गगनकुमार थापाले कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलाई पेन्सन पकाएर राजनीतिमा आएको टिप्पणी गरेका छन्।
तर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने विरोधी पार्टी र उम्मेदवारविरुद्ध कुनै आरोप प्रत्यारोप गरेका छैनन्। बरु उनीहरूले आफ्नो भिजन प्रस्तुत गरेर जनताको मन जित्ने प्रयास गरेका छन्।
रास्वपाबाट तनहुँ १ मा उम्मेदवारी दर्ता गरेपछि स्वर्णिम वाग्लेले अहिलेको विकृत राजनीतिलाई सुधार गर्नकै लागि आफू राजनीतिमा आएको दावी गरे।
बारा २ मा जनता समाजवादीलाई सघाउने कांग्रेसका नेता नपुगेपछि सो निर्वाचन क्षेत्र घण्टीमय भएको छ। स्वतन्त्र पार्टीका समर्थकहरूले घण्टी बजाउँदै नारा लगाएर बजार परिक्रमा गरेका थिए।












