चितवन । चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर गएर उनले उम्मदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता पश्चात सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै लामिछानेले नागरिकतामा आफ्नो त्रुटि भएको स्वीकार गर्दै आफ्नो भागको नैतिक जिम्मेवारी जिम्मा लिन तयार रहेको बताएका छन् ।
‘मानविय त्रुटिका कारण उपनिर्वाचन गर्नुपर्ने अवस्था आयो । कसैले न कसैले जिम्मा लिनै पर्ला, मेरो भागको कति हो भनेर कसैले छुट्याइदियो भने जिम्मा लिन तयार छु । मानवीय त्रुटीहरु नभएका हैनन् । म भित्र कतिपय अनविज्ञता छन्, सर्वज्ञ छैन । आम जीवनले बुझेर हेर्दापनि सामान्यगत त्रुटी हो भन्ने कुराले यस्तो नगर्नपनि सकिन्थयो भन्ने कुरा आएका छन्, उनले भने ।
मुलुकको समृद्धि र देशलाई शान्त र असल देशका सूचकमा लिएर जानको लागी आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।
उनले भने, ‘मेरो उम्मेदवारी मुलुकको समृद्धि, सुसासन, आउँदै गरेको पुस्ताको लागी, सुन्दर भविष्य कोर्न, राजनीतिमा शुद्धताको लागी, पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुद गर्दै मुलुककै लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्न, संविद्यानको रक्षाका लागी, जनजीविकाको रक्षाका लागी, स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न र नयाँ पुस्ताको प्रतिनिधित्वका लागी हो ।’












