काठमाडौं। नेपालको जनगणना २०७८ अनुसार २१ लाख ९० हजार भन्दा बढी नागरिक विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ का अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरूबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्दै आएको जनाएको हो।
जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ (८२.२ प्रतिशत) र महिला ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेको शुक्रबार सार्वजनिक भएको जनगणनाको विवरणमा उल्लेख छ।
२०६८ को जनगणनाअनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए।












