चितवन । त्रिशुलीमा नुहाउने क्रममा १२ वर्षीय बालक बेपत्ता भएका छन् । विरगञ्ज महानगरपालिका–२१ मनोहरी घर भई हाल इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा लेबर काम गरि बस्ने कृष्ण प्रसाद यादवको छोरा करिब १२ वर्षीय अक्लेश यादव त्रिशुलीमा नुहाउने क्रममा आज दिउँसो साढे ३ बजे बेपत्ता भएका हुन् ।
बेपत्ता यादवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । शसस्त्र प्रहरीको गोताखोर टिमसहित नेपाल प्रहरी र निजको अभिभावकले यादवको खोजी गरिरहेको उनले बताए ।
बेपत्ता भएका यादवसँगै नुहाउन गएका बारा गडिमाई नगरपालिका–६ तेलगाई घर भई हाल कुरिनटार बस्ने वर्ष १७ को विशाल यादव भने सकुसल रहेको प्रहरीले जनाएको छ ।











