काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेका छन् । कानुन सबैलाई बराबर हुने भन्दै गुरुङलाई भेटेर धन्यवाद दिएको रविले बताएका छन् ।
काठमाडौँस्थित एक भिसा सेन्टरमा दलबलसहित पुगेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा प्रहरीको हिरासतमा पुगेका गुरुङलाई रविले भेटेर धन्यवाद दिएका हुन् ।
‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ’, उनले भने ।
भेटका क्रममा गुरुङले आफुलाई मन्त्री भन्ने कुरा थाहा नभएको र आफुले ड्युटीमात्रै पुरा गरेको बताएको रविले बताएका छन् ।
‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो’, गुरुङले भनेको कुरा उद्धृत गर्दै रविले भनेका छन् ।
गुरुङलाई दण्डित नभई स–सम्मान रिहाई गर्नुपर्ने भन्दै रविले कानुन पालना नगरेको अभियोगमा मन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।











